Wednesday, June 25, 2014

बृद्धाश्रम



              - दुतेन्द्र चाम्लिङ


संसारकै सबैभन्दा ठुलो बृद्धाश्रम
मेरो देशमा छ

बृद्धाश्रम -
जसको उत्तरआधुनिक तिर्थस्थलहरु छन् -
भारत
चीन
बेलायत
अमेरिका

जसको एउटै छ सिद्धान्त
कि देश बनाउनु
उत्तरआधुनिक देउताहरुको तथास्तु चाहिन्छ

जसको -
खलामा हुन्छ सधैं दाइँ
कहिले खेतमा हुदैन रोपाइँ

संसारकै सबैभन्दा ठुलो वृद्धाश्रम
तपाईको देशमा छ

वृद्धाश्रम -
जहाँ झ्यालहरु छैनन्
ढोकाहरु मात्रै छन्
यो वृद्धाश्रम हो कि बन्द गोदामघर ?
प्राय सबै बेखबर छन्

जहाँ -
प्रेटोल र डिजेलको ट्याङ्करहरु जस्तै
थिङ्क ट्याङ्करहरु रातारात आयात हुन्छन्

जहाँ -
पुराना सामान जस्तै
खपाउ हुन्छन् पुराना विचारहरु
जसले कायम राख्छ देशमा शान्ति र अमन चयन

संसारकै सबैभन्दा ठुलो वृद्धाश्रम
उहाँको देशमा छ

वृद्धाश्रम -
जो खासमा वृद्धाश्रम होइन
सधैं ढाँट्छ,
इन्डिया बाट विदेश जानु सस्तो पर्छ भन्दै
इन्डिया लगेर अलपत्र पारे जस्तो
बाटैमा अलपत्र पार्छ

जो -
अक्सर परनिर्भरता छाद्छ
र यो देशको झन्डाले मुख पुस्छ
कसैले सोधे
'रातोमा फोहोर देखिदैन' भन्छ

जो -
सामान्य लहरेखोकीले जब आक्रान्त हुन्छ
तब घोर्ताप्रे खोज्नु
उत्तरआधुनिक तिर्थस्थल जान्छ
फर्केपछि
तीर्थयात्रा औचित्यपूर्ण भएको घोषणा गर्छ

संसारकै सबैभन्दा ठुलो वृद्धाश्रम
हाम्रो देशमा छ

वृद्धाश्रम -
जसले खोकेको छ
जसरी  बजेको छ महाभारतमा
द्रोणाचार्यको प्रश्नको उत्तरको साटो
युधिष्ठिरको जवाफमा शंख
र छोपेको छ काँडेतारहरुले बाटोहरु
जहाँबाट घाम झुल्किन्छ

जसले -
बोकेको छ कोर्नग्राफ घडीमा समय
ज्वारीकोटको गोजीमा समाज
बर्माकोटको गोजीमा देश

जसले -
पारेको छ सबैभन्दा ठुलो टेण्डर
ल्याएको छ वैदेशिक लगानीको ओइरो
बनाएको छ यति सुन्दर शान्त देश

संसारकै सबैभन्दा ठुलो वृद्धाश्रम
हाम्रो देश नेपालमा छ
तर यसको नाम भने अर्कै छ
र त युवाहरु देशबाहिर छन् ...|

                                                         * पाण्डुलिपि पत्रिकाको  बर्ष १ अंक २, २०७१ मा प्रकाशित 

No comments:

Post a Comment