-
दुतेन्द्र चाम्लिङ
रसुवा जिल्लाको स्याफ्रुबेंसीमा भर्खर
पानी परेर डाँडाकाँडामा हरियो र आकाशमा नीलो खुलेर वातावरण मगमग छ । सघन हिउँको कारणले हिमाल ढकमक्क छ । बर्खामा पनि नधमिलिई सेतै बगिरहने लाङटाङ नदीमा जब घामका किरण पर्छ, त्यसबाट निस्कने प्रकाशको परावर्तनले
जसरी फूलहरूले डाँडाकाँडा उज्यालो पार्छन् त्यस्तै गरी स्याफ्रुबेंसीलाई उज्यालो
पारेको छ । त्यो उज्यालोले कुनै पनि मानिसलाई
कि त उसको जीवनको ऊर्जाशील र रमाइलो दिनको याद दिलाउँछ कि त कहिल्यै नगरेको सुखको
अनुभूतिका लागि कल्पनाशील बनाउँछ । प्रकाशको परावर्तनले उज्यालो भएको स्याफ्रुबेंसी नदेखी स्याफ्रुबेंसीको प्रशंसा गर्नेहरूले कि त ढाँटिरहेको हुन्छन् कि त उनीहरूले खास उज्यालो देख्नै बाँकी छ भन्ने कुराप्रति उनीहरू नै अनभिज्ञ हुन्छन् ।
ग्याल्पो ल्होछार आएको वेला छ । तामाङ र शेर्पा समुदायको बस्ती भएको र उनीहरूले बोन र बौद्घ धर्म मान्ने भएको कारणले यहाँ दसैं र तिहारजस्ता चाडबाड मनाउने चलन छैन । उनीहरूको मुख्य चाड ल्होछार भएकाले बडो धूमधामका साथ मनाउँछन् । ल्होछार आउनुभन्दा १०–१२ दिनअघिदेखि नै सबै गाउँलेहरू पालैपालो एउटा–एउटा घरमा भेला भएर पिठो मुछ्ने
तथा सेरो र सोल्मर पकाउने चलन छ । सेरो अंग्रेजी आठ संख्या जस्तो
पंक्तिबद्ध रोटी हो जुन बनाउने कला र शिल्प अद्भुतको हुन्छ । भेला भएको वेला सबै मिलेर सामूहिक गीत गाउँछन् । सामूहिकताको प्रभावजस्तो एउटा रोटी पनि सामूहिक प्रकृतिको देखिन्छ । टिकटक जेनेरेसनदेखि सामूहिक गीत र कुनै घरबाट आइरहेको टुङ्नाको धुनले ल्होछारको रौनक अरू थपेको छ र संगीतको गुम्बजले दक्षिणी मंगोलियाको एउटा सांगीतिक ब्यान्डको सम्झना दिलाइदिन्छ ।
********************
हंगाई ब्यान्ड
हंगाई ब्यान्ड सन् २००४ मा चीनको
बेइजिङमा स्थापना भएको हो । यस ब्यान्डका संस्थापक इल्ची पहिला पंक रक ब्यान्ड टी नायनको फ्रन्टम्यान थिए । दक्षिणी मंगोलियाका उनी संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने क्रममा थिए । जब उनले ‘खुन खुर तु र यात खा’का ओभरटोन सुने, अध्ययन गर्दै जाँदा ओभरटोनको लामो
परम्परा खुमेईका रूपमा आफ्नै समुदायको लोकगीतमा भएको थाहा पाएर चकित भए । ‘खुन खुर तु र यात खा’ दुवै ब्यान्ड रुसको गणतन्त्रको हैसियतप्राप्त तुभा राज्यका ब्यान्ड थिए । दुवै ब्यान्डका संगीत उनले बच्चा हुँदा सुन्ने मंगोलियाको लोकगीतजस्तै थिए । इल्ची १२ वर्षको उमेरसम्म दक्षिणी मंगालियामै हुर्के बढे र त्यसपछि
बेइजिङमा बस्दै आएका थिए । उनलाई ओभरटोनले दक्षिणी मंगोलियाको आफ्नो गाउँ पुर्यायो । दक्षिणी मंगोलियामा इल्चीले बातुबागेन
र हुगेजिल्तुलाई भेटे र चिंघाई र दक्षिणी मंगोलियाको साथीहरूसँग मिलेर हंगाई
ब्यान्डको स्थापना गरे । पाँचजनाको समूहबाट सुरु
भएको यो ब्यान्डमा अनेक आरोह–अवरोहसाथ १५ वर्षको आफ्नो इतिहासमा लगभग पन्ध्रै जना
सदस्यहरूको संलग्नता रहे पनि एकैचोटि सबै सदस्य सक्रिय भएको ठूलो संख्या भनेको आठ जनाको
संख्या हो ।
हाल यो ब्यान्ड इल्ची, हुरिचा, बातुबागेन, एैलुन, मेन्दा र निउ सिन गरी ६ जनाको समूहद्वारा अगाडि बढिरहेको छ । यिलालाता, हुगेजिल्टु, सु चिङचेन, हु चुन्ते र लि चाङताओ ब्यान्डबाट अलग
भइसकेका छन् । विशेषगरी लिड गिटारिस्ट यिलालाता बाहिरिएपछि उनको उच्च आवृत्तिपूर्ण, स्पष्ट उच्चारण र नोटेवल स्वरको सबैले
मिस गरिरहेका छन् । इल्ची गायक पनि हुन्, तर उनी मुख्यतः तोवसुर (दुईतारे
वीणाजस्तो बाजा) वादक हुन् । मुख्य गायक हुरिचा हुन् जसको आवाज बाजको फर्फरावट जस्तो रहस्यमय र भव्य छ । बातुबागेन खुमेई (एकैचोटि एकजनाले
दुई वा दुईभन्दा बढी आवाज निकालेर गाउने शैली) गायक र मोरिन खुर (मंगोलियन सारंगी)
वादक हुन् । एैलुन गितारवादक, मेन्दा पर्कसन र निउ सिन बेसमा छन् । सन् २००४ मा स्थापित भए पनि २०१५ को ‘सिङ माई सङ’ नामक चाइनिज रियालिटी ट्यालेन्ट सोमा सहभागी भएपछि यो
ब्याण्डले अन्तर्राष्ट्रिय रूपमा ध्यान खिचेको हो । सुरुमै धेरैको ध्यान खिचेको यो ब्यान्डले यो सो जितेपछि अरू श्रोतासम्म पुग्ने अवसर
पायो ।
मंगोलियाको इतिहास
सन् १२०६ मा चंगेज खाँले मंगोल
साम्राज्यको विस्तार गरे । उनकै नाति कुब्लाँ खाँले सन् १२७१ मा युयान राजतन्त्रको स्थापना गरे । सन् १३६८ मा हान नेतृत्वको मिङ राजतन्त्रले युयान राजतन्त्रको अन्त्य गर्यो । चीन (किन) राजतन्त्रले निर्माण गरी लामो समयपछि भग्नावशेष अवस्थामा रहेको ग्रेटवाललाई पुनर्निर्माण गरी मंगोलियाको दक्षिणमा पर्खाल लगाई अलग गर्ने काम मिङ राजतन्त्रले गर्यो । उत्तरी मंगोलिया सन् १९११ मा चिङ
राजतन्त्रबाट स्वतन्त्र भए पनि आन्तरिक द्वन्द्वका कारण दक्षिणी मंगोलिया चाहिं
स्वतन्त्र हुन सकेन । र, समग्र मंगोलियाको भविष्य विभाजित भयो । दोस्रो विश्वयुद्धको अन्त्यतिर रुसको सहयोगमा चीनले जापानबाट मन्चुरिया र दक्षिणी मंगोलियालाई स्वतन्त्र बनाई सन् १९४७ मा दक्षिणी मंगोलियालाई स्वायत्त राज्य घोषणा गर्यो । मंगोलियालाई आफ्नो हित, स्वार्थ र रणनीतिअनुरूप प्रयोग गर्ने मन्चुहरूको
चिङ राजतन्त्र, मंगोलियाको इतिहास नबुझ्ने र हित
नरुचाउनेहरू मंगोलियालाई बाहिरी मंगोलिया र अहिले चीनअन्तर्गतको स्वायत्त राज्य
दक्षिणी मंगोलियालाई भित्री मंगोलिया भन्छन् । स्वतन्त्र राज्य मंगोलियाभन्दा हाल दक्षिणी
मंगोलियाको जनसंख्या बढी छ । सांस्कृतिक क्रान्तिको समयदेखि दक्षिणी मंगोलियाको स्वायत्ततामाथि फेरि धावा बोलिन थालियो र दमन सुरु भयो । दक्षिणी मंगोलियाका विभिन्न
भागवरिपरिका प्रान्त जस्तै हुलुनबुइरलाई हेइलोङजियाङ र जिलिन गरी दुई भागमा, जिरिमलाई जिलिङमा, जु उदालाई लियओनिङमा, अलासन र इजिनेलाई गन्सु र निङसियामा
विभाजन गरियो । दक्षिणी मंगोलियाको राष्ट्रिय एकतालाई प्रभाव पार्ने यो चीन सरकारको भूराजनीतिक रणनीति थियो ।
देङ स्याओपिङको समयमा सन् १९७८ मा
चिनियाँ आर्थिक सुधारको नीति कार्यान्वयन हुँदा त्यसको प्रभाव दक्षिणी मंगोलियामा
पनि पर्यो । अथाह प्राकृतिक स्रोतले सम्पन्न दक्षिणी मंगोलियामा थोरै समयमा नै आर्थिक वृद्धिले गति लियो र आर्थिक विकासमा चीनलाई ठूलो योगदान दियो । आर्थिक क्रियाकलाप र अरू सम्भावनाको कारणले चीनको अरू प्रान्तबाट मानिस बसाइँ सरी आउने कारणले दक्षिणी
मंगोलियाको जनसंख्या ह्वात्तै बढ्यो । औद्योगिक विकास, जनसंख्याको अत्यधिक वृद्धि र
सहरीकरणको कारणले त्यहाँको पर्यावरणमा नराम्रो असर पर्न थाल्यो । असमानताको खाडल बढ्यो । त्यहाँका कैयौं आदिवासी विस्थापित भए र रहेकाहरू पनि आफ्नै ठाउँमा सीमान्तकृत भए । त्यही क्रममा त्यहाँ सन् २०११ र २०१३ मा हिंसात्मक द्वन्द्व फैलियो ।
हंगाई ब्यान्ड, सांस्कृतिक जागरण र पहिचानको राजनीति
दक्षिणी मंगोलियामा सरकारी कामकाजको भाषा मंगोलियन र मन्डारिन भाषा भनिए पनि कुल जनसंख्याको लगभग असी प्रतिशत हान समुदायको बाहुल्य भएको र राज्यको संरचना, व्यवस्था र नीति हान समुदाय अनुकूल छ । सरकारी कार्यालयमा हान समुदायले बोल्ने मन्डारिन भाषा नै बढी प्रयोग गर्ने अवस्थाको निर्माण भएको छ । हानहरूको राजनीतिक, प्रशासनिक, सामाजिक र सांस्कृतिक हेजेमोनीको कारणले कल्चरल एस्सिमिलेसनको अवस्था सिर्जना हुन पुगेकाले दक्षिणी मंगोलियाको मंगोलको पहिचान लोप हुने स्थितिमा पुगेको छ । साहित्य, संगीत र कला कुनै पनि विधा राजनीतिबाट अलग हुन सक्दैन । इतिहास, संस्कृति, राजनीति र प्रकृतिप्रति सचेत र रुचि भएको हंगाई ब्यान्डका गीतका मुख्य विषय पनि यिनै संस्कृति, इतिहास, राजनीति र पर्यावरण हुन् ।
मंगोलियन भाषामा हंगाई शब्दको अर्थ विशाल घाँसेमैदान, पहाड, नदी, जंगल र नीला आकाश सबैको प्राकृतिक परिदृश्य भन्ने हुन्छ । मंगोलियाबाट संसारकै सबैभन्दा बढी नीलो र विशाल आकाश देखिन्छ, भनिन्छ । हंगाई ब्यान्डको गीतले हामीलाई मंगोलियाको विशाल मैदानमा पुर्याउँछ । २३ सय वर्षभन्दा लामो इतिहास भएको खुमेई गायन शैलीले मंगोलियाको इतिहास सम्पन्न संगीतबारे बताउँछ । खुमेईले श्रोताहरूको कल्पनाशीलतालाई सक्रिय तुल्याउनुका साथै कल्पनाको दृश्यलाई सघन बनाइदिन्छ जसले श्रोताहरूमा संगीतको गहिरो प्रभाव पर्छ । खुमेई आफैंमा पूर्ण संगीत संयोजनको दृष्टान्त हो जसले विशेष गरी श्रोतालाई कल्पनामा सैर गर्ने मुडको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ र श्रोतामा संगीतको प्रभाव पार्छ । हंगाई ब्यान्डको गीतमा जब खुमेईको पालो आउँछ, श्रोताहरूले आफूलाई मंगोलियाको घाँसे मैदानमाथि हिंडिरहेको पाउँछन् । घाँसेमैदानमा घोडा दौडिरहेछन् । नीलो आकाशको अनन्ततासँग हरिया विशाल मैदान जुहारी खेलिरहेछ । घामको किरण नीलो आकाशमा परावर्तन भएर वातावरण उज्यालो छ र मंगोलियाको कला, संस्कृति, इतिहास र पर्यावरणसँग एकैचोटि साक्षात्कार भइरहेछ । हालसम्म आठ वटा एल्बम प्रकाशन गरेको यस ब्यान्डको संगीतको स्रोत मंगोलियाको लोकगीत हो । यो ब्यान्डका गीतहरूमा पश्चिमी बाजाको प्रयोग गरिए पनि लयको स्रोत लोकगीत भएकाले सबै गीतमा मंगोलिया लयको मौलिकता बाँचेकै हुन्छ । मंगोलियाको विशाल हरिया घाँसे मैदान, दृश्यको अनन्तता, लयको आरोहको समानान्तरता, शान्त वातावरण र काँसको फरफर जस्ता पर्यावरणको प्रभाव गीतमा पाइन्छ । मन्द, उच्च, धिमा र तीव्र स्वरको बेजोड संयोजन हंगाई ब्यान्डका गीतमा पाइन्छ । प्रायः गीतमा संगीतले प्रकृतिलाई अनन्त र समानान्तर आरोहका साथ अपिल र सम्बोधन गरेको पाइन्छ । लयमा विशाल घाँसेमैदानजस्तो स्वच्छन्दता पाइन्छ । उनीहरूले एउटा पार्टीमा ‘उत्सव’ विषयमा गीत तयार गरे । त्यो गीतको सिर्जनाका क्रममा उनीहरूले गीत गाउँदागाउँदै अडियन्सबाट प्राप्त स्वाभाविक प्रतिक्रियालाई पनि संगीत संयोजनमा समावेश गरी रेकर्ड गरे । अडियन्सले गरेको प्रतिक्रियालाई गीतमा समावेश गरेकोले त्यस गीतले अरू अडियन्सको प्रतिक्रियालाई पनि रिलेट गर्यो र त्यो गीत अत्यधिक रुचाइयो । त्यो गीतको सिर्जनामा अडियन्सले गरेको इन्कलाबले अरू अडियन्सलाई यति रिलेट गर्छ कि वास्तवमा त्यो गीत सुन्ने जो–कोहीले ऊ त्यतिवेला यदि त्यहाँ उपस्थित हुन्थ्यो भने उसले गर्ने प्रतिक्रिया त्यही हुन्थ्यो भन्नेबारे ऊ विश्वस्त हुन्छ । वास्तवमा लोकगीतजस्तै त्यो गीत सामूहिक सिर्जनशीलताको उपज थियो । पछि, त्यसलाई ‘ड्रिंकिङ सङ’ को नाम दिइयो ।
हंगाई ब्यान्डले आधुनिक रक र पुस्तौंपुस्तादेखि
बाँचिरहेको मंगोलियन लोकगीतलाई संयोजन गरेर संगीतको सिर्जना गर्ने भएकाले त्यस
संगीतले नयाँ भाषाको विकास गर्दै र नयाँ र पुराना पुस्ताको बीचमा संवादको सिर्जना
गरिरहेको छ । यस ब्यान्डको ‘पुनर्जन्म’ बोलको गीतमा सबै प्राणीको प्रकृतिमाथि समान अधिकार र जिम्मेवारी हुने भएकाले हावा, पानी, माटो, आगो र घामको किरण सबैले एक–आपसमा
बाँड्छौं र प्रकृतिप्रतिको आ–आफ्नो जिम्मेवारी वहन गर्छौं भन्ने प्रतिबद्धताको भाव
छ । ज्ञानको कहिल्यै अन्त्य (मृत्यु)
हुँदैन, ज्ञानको प्रसार र हस्तान्तरणबाट नै
मानिसको पुनर्जन्म (चेतनाको निरन्तरता) हुन्छ भन्ने यो गीतको भाव छ । मानिस आफ्नो पुर्खाको ज्ञान, कला, सभ्यता र संस्कृति आफ्ना सन्तानमा प्रसार र हस्तान्तरण गर्छ र
आफ्नो जन्मको औचित्यलाई पुष्टि गर्दै आफ्नो जिम्मेवारीलाई पूरा गर्छ भन्ने भाव यस
गीतमा छ । बाजको वेग र घोडाको तेजजस्तो लय भएको यो गीतले उल्लासमय, उमंगमय र ऊर्जाशील बनाउँछ ।
मंगोलियामा हरिया विशाल फाँट प्रशस्त
भएका कारणले मंगोलियाका मानिसको दृष्टिले अनन्तता देख्ने अवसर प्राप्त गर्यो । त्यसले प्रकृतिको अत्यधिक दोहन गर्ने अहिलेको मानिसको प्रवृत्तिबाट मंगोलियालाई सधैं बचाएर राख्यो । हंगाई ब्यान्डको प्रायः सबै गीतको भाव त्यसै
वरिपरि छ । प्रकृतिको भार क्षमताभन्दा बढी हुनेबित्तिकै वा पर्यावरणमा प्रतिकूल असर पर्ने सम्भावना बढ्ने बित्तिकै अन्यत्र
बसाइँ सर्ने प्रवृत्तिका कारणले मंगोलियामा नोमेडियन लाइफ (घुमन्ते जीवन)
संस्कृतिको विकास भयो । हंगाई ब्यान्डका गीतमा इतिहास भए पनि चंगेज खाँको वीरताको गुनगान छैन । भविष्यको पुस्ताका लागि चाहिने ज्ञान, कला, साहित्य, संस्कृति, इतिहास र प्रकृतितर्फ केन्द्रित छ । प्रकृतिसँगको
सामीप्यमा जीवन कति रमाइलो र सुन्दर हुन्छ भन्ने कुराको वर्णन छ । उज्यालो भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धता छ, संकल्प छ । लोकगीतप्रतिको रुचिले परम्पराप्रति फर्काईजस्तो देखिए पनि हंगाई ब्यान्डको सिर्जना वैज्ञानिक परम्परागत ज्ञान, अनुभव र दर्शनको माध्यमद्वारा उज्यालो
भविष्य बनाउने उद्देश्यतर्फ केन्द्रित छ । कला, संस्कृति, सभ्यता र इतिहासको संरक्षण गर्दै सभ्य
समाजको निर्माण गर्ने सपनाका साथ हंगाई ब्यान्डको गीतको अन्तर्वस्तुको केन्द्रीय
विषय पहिचान हुन पुगेको छ । यस ब्यान्डको गीतमा दक्षिणी मंगोलिया छाडेर बेइजिङमा बस्ने मंगोलियनको आफ्नो गाउँप्रतिको
नोस्टाल्जिक अनुभूति मात्र छैन, लोप हुँदै गएको मंगोलियाको कला, संस्कृति, इतिहास र बिग्रँदै गएको पर्यावरणको
संरक्षणको गर्ने सपना छ ।
मंगोलियामा दुई–तीन सय वर्षअघि एक
खालको नीलो बुलबुल चरा पाइन्थ्यो । मानिसहरू जब एक्लै लामो यात्रा गर्थे, उनीहरूलाई ऐकान्तिकताले सताउँथ्यो, एक प्रकारले त्यस्तो ऐकान्तिकताको
सन्नाटाले मानिसमा डर, त्रास र भय पैदा हुन्थ्यो । त्यस वेलामा त्यही नीलो बुलबुल चराको आवाज सुन्नेबित्तिकै मानिस आफूले चिनेको साथी भेटेजस्तो सम्झन्थे र ढुक्कले यात्रा गर्थे । पछि, त्यो चरा हरायो ।
मानिसले त्यस पुरानो साथीलाई बिर्सन
सकेनन्, त्यस चराको आवाजलाई गाउन थाले । त्यो चराको आवाज लोकगीतका माध्यमद्वारा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै गयो । त्यही चराको आवाज ‘हंगाई’ बोलको गीतमा हुरिचाले गाएका छन् । जुन आवाजले शान्त वातावरणलाई भत्काएर कोलाहल
सिर्जना गर्दैन । त्यस आवाजले त बरु सन्नाटालाई एउटा संगीतमय वातावरणमा रूपान्तरण मात्र गर्दैन, त्यहाँको पर्यावरण कति स्वच्छ र
जीवनप्रद छ भन्ने कुराप्रति साक्षात्कार गराउँछ ।
*************************
टाढा कतै मानिसहरू सामूहिक गीत
गाइरहेछन् । गाएको गीतको लयसँग नेपथ्य ब्यान्डको ‘मै मरी
जाउँला जीवन छोटो छ’ गीतको लय मिल्छ । कला, साहित्य, संगीत, संस्कृति र इतिहासको पर्यावरणमा नेपथ्य ब्यान्डको सिर्जना र
विचारको सम्झना आउँछ । नाममा के छ भनेर विद्वानहरुले सरल उत्तरको
लागि जटिल प्रश्न गरिदिएका छन् । २५ किलोमिटरपछि भेटिने त्रिशूली नदीमा आफ्नो नाम
एस्सिमिलेट गराउनु ? लाङटाङ नदी उसैगरी निरन्तर बगिरहेछ । त्यसको सेता छालमा घामको किरण परावर्तन भएर स्याफ्रुबेंसी झन् उज्यालो देखिन्छ । प्रकृतिलाई राम्ररी थाहा छ, छाल र घामको प्रकाशको किरणलाई राम्ररी
थाहा छ, एक–अर्काको अस्तित्व स्वीकार गरेपछि
नै परावर्तन हुन्छ र संसार उज्यालो हुन्छ । मंगोलियाको लोकगीत र पंक रक गीतको अस्तित्व स्वीकार गरेको कारणले नै हंगाई ब्यान्डका गीत उज्यालो भविष्यतिर अग्रसर छन् ।
*© नयाँ पत्रिकाको शनिवारको विशेषांक ‘झन् नयाँ’ मा २०७६
चैत १ शनिबार प्रकाशित
https://jhannaya.nayapatrikadaily.com/news-details/893/2020-03-14

