सानो छँदा
हिउँदमा पारि—कोशी पारिबाट
आउँथे अक्कासमा माला जस्तो भएर
‘कर्याङकुरुङ कर्याङकुरुूङ’ गर्दै कर्याङकुरुङहरु
अनि जान्थे माथि उर्लेनी डाँडा हुँदै
उँभो लेक—ट्याम्के तिर
हाम्रो आमा भन्नु हुन्थ्यो—
“केटाकेटी हो, काँक्रा रोप्ने बेला भएछ”
अनि खोज्नु हुन्थ्यो—रोप्नु
काँक्राको बियाँ, घरको खोपीको भित्ता तिर
सोराहींमा पोका पारेका साना—साना कपडाका थाङ्ना थुङ्नीका थैली तिर .....
केही महिनामा हाम्रो घरको घुर्यानको थाँक्रामा
साना—साना मादल जस्ता काँक्राहरु झुन्डिरहेका हुन्थे .....
हिजो दिउँसो छोरीले काँक्रा ल्याईमागिन्
बेलुकी म रित्तै फर्किएँ, बेरोजगार पार्क (रत्नपार्क) बाट
श्रीमतीले कराईन् .....
मनमनै सोचें “काठमान्डूमा कर्याङकुरुङ उड्दैन !”
अनि छोरीलाई काखमा लिंदै भनें
“कर्याङकुरुङ नउडेको बेला
रोपेको काँक्रा खानु हुदैन छोरी..."
* चैत्र ३ , २०६९ नागरिकको अक्षरमा प्रकाशित

No comments:
Post a Comment